दोलखा । कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
स्थापनाको ५० वर्ष पुरा गर्न लागेको अवसरमा विभिन्न कार्यक्रमका साथ माघ १७ गतेदेखि २१ गतेसम्म स्वर्ण महोत्सव मनाउन लागेको प्रधानाध्यापक भीमकुमार पाण्डेले जानकारी दिनुभयो । ‘हामी सबैको ईच्छाः गुणस्तरीय, व्यवहारिक र प्रविधियुक्त शिक्षा’ भन्ने नाराका साथ विद्यालयले स्वर्ण महोत्सवको तयारी गरिरहेको छ ।
प्रधानाध्यापक पाण्डेका अनुसार पहिलो दिन विविध साँस्कृतिक प्रस्तुतीका साथ स्वर्ण महोत्सवको उद्घाटन हुनेछ । संघीय सांसद गंगा बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । दोस्रो दिन जिल्ला स्तरीय वतृत्वकला प्रतियोगिता, गाउँपालिका स्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिनेछ । त्यस्तै तेस्रो दिन गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, चौथो दिन गाउँपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता हुनेछ । पाँचौ दिन भलिबलको फाईनल खेल, सम्मान तथा पुरस्कार वितरणसँगै स्वर्ण महोत्सवको समापन गरिनेछ ।
सह–प्रधानाध्यापक डम्बरबहादुर थामीले सबै सरोकारवालाहरुको सहयोगमा विद्यालयले ५० औं वर्ष पुरा गर्न लागेकोले शैक्षिक गुणस्तरलाई थप अभिबृद्धि गर्ने संकल्पका साथ स्वर्ण महोत्सव मनाउन लागिएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज भण्डारीले समस्या, चुनौतीहरुका बाबजुत विद्यालयले स्वर्ण वर्ष पुरा गर्नु खुसीको विषय भएको बताउँदै शैक्षिक गुणस्तर बढाउने प्रयास जारी रहेको बताउनुभयो ।
विद्यालयमा लामिडाँडा, लापिलाङ र बावरेका १७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक÷कर्मचारी कार्यरत छन् । २०४८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको यो विद्यालयले भौतिक पुर्वाधारको समस्या झेल्दै आएको प्रधानाध्यापक पाण्डेले बताउनुभयो ।
२०३१ सालमा स्थापना भएको यो विद्यालय जिल्लाको संस्कृत विषय अध्यापन गराउने एक मात्र शैक्षिक संस्थाको रुपमा स्थापित थियो । द्धन्द्धकालमा हटाईएको संस्कृत विषय हाल विद्यार्थी अभाव लगायतका कारण सुचारु हुन सकेको छैन ।