दोलखा । चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ औं स्थापना दिवस बुधबार विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
दिवसको अवसर पारेर आयोजना गरिएको उद्यमशीलता प्रबर्द्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीले ग्रामीण नागरिकको जनजीविकासँग सहकारी प्रत्यक्ष जोडिएकोले बचत मात्र नगरी उद्यमशीलताका लागि ऋण सुविधा लिने र ऋणको सही सदुपयोग गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सदस्यको उत्पादनलाई केन्द्रित गर्दै ब्रान्डिङ तथा प्याकेजिङको महत्वको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी गराउनुभएको छ । सहकारीका सदस्यले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि स्थानीय सरकार तथा व्यावसायिक निकायसँग साझेदारी गर्ने र सदस्यलाई समृद्ध बनाउने लक्ष्यका साथ हाम्रो जनकल्याणले उद्यमी सदस्यका लागि विभिन्न प्रोत्साहनमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको अवसरमा संस्थाका उत्कृष्ट उद्यमी सदस्य सम्मानबाट कल्पना बुढाथोकी, भगवती बस्नेत र भीम बहादुर विश्वकर्मालाई तीन तीन हजार नगदसहित सम्मान गरिएको छ । त्यसैगरी जेष्ठ नागरिक सम्मानबाट ९३ वर्षिय बल बहादुर अधिकारी र ९२ वर्षिया पदम कुमारी खडका तीन तीन हजार नगदसहित सम्मानित भएका छन् । त्यसैगरी संस्थाले गत वर्षदेखि प्रकाशन सुरुवात गरेको ‘सदस्यको आवाज’ नामक बुलेटिन सार्वजनिक तथा हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोशीप प्राप्त गर्ने पत्रकारहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कुनका बरिष्ठ उपाध्यक्ष जिवसराज खडका, दोलखा जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्मा, भीमेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख नारायण सेढाँई, संस्थाका उपाध्यक्ष सहदेव खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको छ ।
२०५४ साल बैशाख १७ गते स्थापना भएको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा हालसम्म ७ वटा विभिन्न सहकारी एकीकृत भएका छन् । ९ हजार ५ सय शेयर सदस्य रहेको संस्थाको कार्य क्षेत्र दोलखा जिल्ला भरी रहेको छ भने ८८ करोड ३७ लाख बराबरको सम्पत्ति तथा दायित्व रहेको संस्थाले जनाएको छ ।