दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीका रामजी मुग्राती करिब १२/१४ वर्षदेखि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा बचत गर्दै आउनुभएको छ । उहाँले सहकारीमा मासिक बचत, आवधिक बचत, पेन्सन बचत लगायत विभिन्न थरीका बचत गर्दै आउनुभएको छ । पेशाले डकर्मी अर्थात घर बनाउने कामसँगै अलिअलि तरकारी खेतीबाट आएको आम्दानीबाट खर्च कटाएर बचत गर्ने गरेको मुग्राती बताउनुहुन्छ ।
मुग्रातीले आफ्नो मेहनतले कमाएर बचत गरेको रकमबारे सहकारीमा बचत गर्न गएको बेला बचतको हिसाबकिताब हेर्ने गर्नुभएको छ । हाम्रो जनकल्याणमा प्रतिस्पर्धी ब्याजदर र आवश्यक परेको बेला बचत फिर्ता तथा ऋण प्राप्त गर्न सजिलो भएकाले आफ्नो रोजाइमा परेको सदस्य मुग्राती बनाउनुहुन्छ । अप्ठ्यारोको सारथी बनेको सहकारीबाट मुग्रातीले बेला–बेलामा विभिन्न कामको लागि ऋण लिने र समयमै तिर्ने गर्नुभएको छ । नीति नियममा सञ्चालन भएको सहकारी भएकाले रामजीलाई आफ्नो कारोबार हराउने मासिनेमा कुनै शंक्का छैन । त्यतिमात्र होइन हाम्रो जनकल्याण सहकारी संस्थाका सञ्चालकदेखि कर्मचारीहरु समेत अधिकांश आफूले चिनेको र आफ्नै गाउँठाउँको भएकोले बचत सुरक्षित रहने मुग्रातीमा विश्वास छ । मुग्राती सहकारीले आफूलाई अप्ठ्यारो पर्दा सहज रुपमा सहयोग गरेको र आगामी दिनमा पनि सहकारीबाट निरन्तर सहयोगको अपेक्षा गर्नुहुन्छ ।
बाल्यकालदेखि नै सहकारीमा जोडिएर बाल बचतकर्ताको रुपमा बचत गर्ने बानी पर्नुभएकी भीमेश्वर नगरपालिका वडा नम्बर–६ रामकोटकी प्रमिला काफ्ले २०/२१ वर्षदेखि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा बचत गर्दै आउनुभएको छ । जफेबाट विवाह गरेर रामकोट आएपछि सहकारीमा बचत गर्ने सोंचले बुझ्दै जाँदा जनकल्याण सहकारीमा पुगेको उहाँको सुरुवाती अनुभव छ ।
काफ्लेले दैनिक, मासिक, मुद्धती, गृहिणी बचत लगायत विभिन्न खालका बचत गर्दै आउनुभएको छ । बचतसँगै कोभिड संक्रमण जस्तो अप्ठ्यारो अवस्थामा घरखर्च गर्नेदेखि छोराछोरीको उच्च शिक्षा लगायतका काममा ऋण कारोबार गर्ने गरेको उहाँ बताउनुहुन्छ । सहकारीप्रति पूरापूर विश्वास भएकै कारण हाम्रो जनकल्याण सहकारीमै आफूले धेरै प्रकारको बचत गरेको उहाँको भनाई छ । सहकारी संस्थाका सञ्चालकदेखि कर्मचारीहरु समेत अधिकांश आफूले चिनेका र आफ्नै गाउँठाउँको भएकाले आफ्नो बचत सुरक्षित रहने प्रमिलाको विश्वास छ ।
सहकारीले असल कारोबार गर्ने खालका मानिसहरुलाई मात्र ऋण लगानी गर्न सके सबैको बचत सुरक्षित हुने र ऋणीले पनि आफ्नो समस्या सहजै समाधान गर्न सक्ने काफ्ले बताउनुुहुन्छ । सहकारीले आफू जस्तै गृहिणी महिलाहरुलाई विभिन्न सीपमूलक तालिम दिएर आम्दानीमा व्यवसायमा जोड्न सके सहकारी र बचतकर्ता दुवै पक्षलाई फाईदा हुने काफ्लेको सुझाव छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ की भक्तकुमारी श्रेष्ठ करिब एक दशकदेखि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा बचत गर्दै आउनुभएको छ । दैनिक, मासिक, मुद्धती, ऐच्छिक र स्वास्थ्य बचत लगायतका शीर्षकमा बचत गर्दै आएको श्रेष्ठले बताउनुभयो । दोलखा बजारमा बाटेको धुपसहित पूजा सामाग्री पसल सञ्चालन गर्दै आउनुभएकी श्रेष्ठले बिरामी पर्दा, घर बनाउँदा, व्यवसाय सञ्चालन गर्दा सहकारीबाट ऋण लिएर आफ्नो आर्थिक समस्या सुल्झाएको सुनाउनुभयो ।
धुप बाटेर आफ्नै पसलबाट बेच्दै राम्रो आम्दानी गर्नुभएकी श्रेष्ठले पसलको आम्दानी, खेतबारीमा लगाएको तरकारी, अन्नबाली र कुखुरा बेचेर पनि बचत गर्ने गर्नुभएको छ । घर बनाउने काम गर्ने श्रीमान्ले कमाएको रकमबाट पनि घरखर्च धानेर बाँकी रकम बचत गर्ने गर्नुभएको छ । पूजा पसलमा बिक्री नभएर ओईलाएका फूल सुकाएर सयपत्री, धुपी, सुनपाती लगायतको मिश्रणबाट बनाईएको बाटेको धुप दोलखा मात्र नभई काठमाण्डौंमा समेत बिक्रीका लागि लैजाने गरेको श्रेष्ठको भनाई छ । सहकारीले अझै सीप सिकाएर उद्यमी बनाएमा आत्मनिर्भर बन्न सकिने श्रेष्ठ बताउनुहुन्छ ।
हाम्रो जनकल्याण सहकारीले ल्याएका बचतमध्ये धेरै शीर्षकको बचतमा सहभागि हुने अर्की बचतकर्ता हुनुहुन्छ भीमेश्वर नगरपालिका वडा नम्बर–६ मानेडाँडाकी अचुता खतिवडा । सहकारी स्थापनाको सुरुवाती वर्षमै सदस्य बन्नुभएकी खतिवडा दैनिक, मासिक, ऐच्छिक, मुद्धती, पेन्सन बचत लगायतका शीर्षकमा बचत गर्दै आउनुभएको छ । विगतका बर्षहरुमा मसला पसल सञ्चालन गर्दाका बखत दैनिक बचत गर्नुभएकी खतिवडा अहिले पसल छोडेपछि भने दैनिक बचतलाई निरन्तरता दिन नसकेको बताउनुहुन्छ ।
ठूलो आर्थिक रकम खर्च हुने काममा सहकारीबाट ऋण कारोबार गर्ने गरेकी खतिवडा आर्थिक व्यवस्थापनमा सहकारीले ठूलो सहयोग पुगेको अनुभव सुनाउँदै अरुलाई पनि जति सकिन्छ सहकारीमा बचत गर्न सुझाव दिनुहुन्छ । सहकारीहरुमध्ये पनि हाम्रो जनकल्याण सहकारीप्रति आफूलाई विश्वास लागेको र सहकारीले पनि आफूलाई विश्वास गरेर कारोबार गरेको भन्दै सबैभन्दा आफू विश्वासिलो भयो भने सहकारीले पनि विश्वास गर्ने उहाँको भनाई छ ।
हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले १३ प्रकारको बचत राख्ने गरेको छ । हाम्रो जनकल्याण कारोबार, मासिक बचत, दैनिक बचत, बाल बचत, थ्री स्टार बाल बचत, पेन्सन बचत, स्वास्थ्य बचत, सुपर सेभिङ, चाडपर्व बचत, गृहिणी बचत, संकट व्यवस्थापन बचत, समूह बचत र आवधिक बचत रहेका छन् । जसमध्ये अहिले पेन्सन बचत बन्द भएको सदस्य सेवा विभाग प्रमुख बिना अधिकारीले जानकारी दिनुभयो । हालको बजारमा ब्याजदर घट्दोक्रममा रहेकोले पेन्सन दिन सक्ने अवस्था नरहेको भन्दै पेन्सन बचत स्थागत गरिएको उहाँको भनाई छ ।
संस्थाका बचतहरुमध्ये सबैभन्दा बढी मासिक बचतमा ८ हजार ४ सय ४८ जना र सबैभन्दा थोरै संकट व्यवस्थापन बचतमा २० जना बचतकर्ता रहेका छन् । केही सदस्यहरुले ९ वटासम्म बचतमा सहभागिता जनाउनुभएको छ । संस्थाले बढीभन्दा बढी बचतमा सहभागिताका लागि सदस्यलाई प्रेरित गर्दै आएको छ भने समय अनुसार बचतका प्रकारहरुमा थपघट गर्दै आएको छ ।