दोलखा । रोल्वालिङ खोला जलविद्युत आयोजनाको काम चुस्तदुरुस्त ढङ्गबाट सुचारु गर्न गौरीशङ्कर गाउँपालिका वडा नम्बर–९ रिकुका स्थानीयले माग गरेका छन् ।
रिकुमा निर्माणाधिन आयोजनको काम गत असार पहिलो सातादेखि रोकिएपछि काम सुचारु गर्न स्थानीयले दबाब सिर्जना गर्न थालेका हुन् । आयोजनाको सामाजिक उत्तरदायित्व अन्तरगतको सम्झौता कार्यान्वयन गर्नुपर्ने स्थानीयको मागपछि आयोजनाले काम नै रोकेर बसेको स्थानीयको आरोप छ । आयोजनाले स्थानीयका मागको उचित सम्बोधनसहित यथाशीघ्र काम सुचारु गर्नुपर्ने स्थानीय अगुवा होम बहादुर खड्काले बताउनुभयो ।
सम्झौता बमोजिम आयोजनाले स्थानीयलाई सिप र क्षमताका आधारमा रोजगारी दिनुपर्ने, आयोजनाले सञ्चालन गरेको विन्च (तुईन) बाट स्थानीयको दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न दिनुपर्ने, लामाबगरदेखि रिकुसम्म निर्माणाधिन पदमार्गलाई सडकमा रुपान्तरण लगायतका काम गर्नुपर्ने स्थानीयको माग रहेको छ । त्यसैगरी आयोजनाले रोपवे निर्माण लगायतका लागि प्रयोग गरेको जग्गा अधिग्रहण गरेर लिनुपर्ने जग्गाधनी भीम बहादुर खड्काको भनाई छ ।

रिकुका स्थानीय अगुवाहरु
स्थानीयका धेरैजसो मागहरु पूरा गरेको र केहि पूरा हुने क्रममा रहेको तर लामाबगरदेखि रिकुसम्म सडक निर्माण गर्न नसकिने आयोजना प्रमुख मनोज ताम्राकारले भिलेज खबरसँग बताउनुभयो । उहाँका अनुसार आयोजनाले प्रतिबद्धता जनाए अनुसार लामाबगरदेखि रिकुसम्म पदमार्ग भने निर्माण भईरहेको छ । अहिले बर्षायामको समयमा मौसम प्रतिकुलताको कारण काम गर्न असहज भएकोले केहि हप्ताको लागि पदमार्गसहित आयोजनाको भौतिक काम बन्द रहेको आयोजना प्रमुख ताम्राकारको भनाई छ ।
आयोजनाको काम बन्द हुँदा लागि हेलिकप्टरमार्फत रिकुमा लगिएका आयोजनाका विभिन्न उपकरणहरु बारीको पाटामा अव्यवस्थित रुपमा छरपस्ट देखिएका छन् । ती उपकरणहरुको संरक्षण र प्रयोग नहुँदा उपकरणमा क्षति पुग्ने र महिनौंसम्म आयोजनाको काम बन्द हुँदा आयोजना सम्पन्न हुने समयमा ढिलाई हुँदा आयोजनाको लागत बढ्ने हुँदा त्यसको मार पनि माथिल्लो तामाकोशीका शेयर लगानीकर्ताले व्यहोर्नुपर्ने भन्दै स्थानीयबासी आक्रोशित बनेका छन् ।

अलपत्र अवस्थामा रहेका आयोजनाका उपकरणहरु
माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तरगत निर्माणाधिन रोल्वालिङ खोला जलविद्युत आयोजनाबाट २२ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । आयोजना अन्तरगत रिकुमा अडिट–१ टनेल लगायतका केहि भौतिक संरचना निर्माण हुनेछन् ।