दोलखा । प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर–६ च्यामाको २६ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि दोलखा जिल्ला सहकारी सङ्घका महासचिव दिल बहादुर केसीले पछिल्लो समय सरकारले सहकारी संस्थाहरुलाई कानुनी रुपमा व्यवस्थित गर्न लागेको उल्लेख गर्नुहुँदै विधिसम्मत रुपमा संस्थाहरु चल्नुपर्ने बताउनुभयो । उहाँले केहि सहर केन्द्रित सहरकारीमा देखिएका समस्यालाई स्थानीयकरण गर्न नमिल्ने तर भाका नागेको ऋण नउठ्ने समस्या धेरै सहकारीमा देखिएकोले सञ्चालक समिति मात्र नभई सबै पक्ष जिम्मेवार भएर लाग्न सुझाव दिनुभयो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि सहकारी सञ्जाल तामाकोशी गाउँपालिका संयोजक तथा दोलखा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष पर्शुराम कार्कीले भाका नाघेका ऋणीहरुको धितो लिलामका लागि सूचना निकाल्दा ऋणीहरुको सामाजिक प्रतिष्ठामा असर पर्न सक्ने भन्दै छिटो भन्दा छिटो ऋण तिर्न आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष मेघराज केसीले सहकारी संस्था विधि पद्धती अनुसार चलेको उल्लेख गर्नुहुँदै व्यवस्थित रुपमा कुनै व्यवसाय गर्न चाहने शेयर सदस्यलाई ब्याजदर घटाएर पनि ऋण लगानी गर्न संस्था तयार रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव थिर बहादुर केसीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिमला महतले १४ करोड ६६ लाख ३८ हजार ७ सय ४८ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । कार्यक्रमको अवसरमा संस्थाका संस्थापक सचिव स्वर्गीय तिलक केसीको स्मृतिमा स्थापित तिलक स्मृति पत्रकारिता पुरस्कारबाट भिलेज खबरका सम्पादक तारा बहादुर महत, तिलक स्मृति छात्रवृत्ति पुरस्कारबाट नविन फुयाँल र अप्सरा वि.क, सानो उमेरका शेयर सदस्यहरु नविन फुयाँल र रञ्जिता श्रेष्ठ, जेष्ठ शेयर सदस्यहरु कृष्णप्रसाद फुयाँल र कृष्णमाया खत्री, धेरै रकम बचत गर्ने श्री बहादुर घिमिरे र सुनिता आपागाँईलाई सम्मान गरिएको छ ।
त्यसैगरी पूर्व सञ्चालक सम्मानबाट छत्र बहादुर फुयाँल, बर्ष उत्कृष्ट कर्मचारी जोन फुयाँल, असल ऋणी दुर्गा बहादुर फुयाँल, धेरै शेयरकर्ता धनपति फुयाँल र राधिका खड्का, धेरै बचत जम्मा गर्ने बाल बचतकर्ता जेनिशा फुयाँल र बर्ष उत्कृष्ट कृषक देव बहादुर श्रेष्ठ सम्मानित भएका छन् ।