दोलखा । भीमेश्वर नगरपालिकाको आयोजना र स्थानीय सरकार सबलीकरण कार्यक्रमको सहकार्यमा चरिकोटमा दुई दिने ‘स्थानीय सरकारका असल अभ्यास आदानप्रदान राष्ट्रिय कार्यशाला’ सञ्चालन हुने भएको छ ।
मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख इश्वर नारायण मानन्धरले अष्ट्रेलियन सरकारको सहयोगमा द एसिया फाउण्डेसनले सञ्चालन गरीरहेको स्थानीय सरकार सबलीकरण कार्यक्रमको सहकार्यमा कार्यशाला गर्न लागिएको जानकारी दिनुभयो । कार्तिक २७ र २८ गते सञ्चालन हुने कार्यशालाको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन गर्नुहुने भएको छ ।
कार्यक्रममा स्थानीय सरकार सबलीकरण कार्यक्रम सञ्चालन भईरहेका सातै प्रदेशका नगरपालिकाहरुसहित दोलखाका सबै स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहने नगरपालिकाले जनाएको छ । जसमध्ये कोशीबाट दमक नगरपालिका, मधेशबाट मिथिला नगरपालिका, गण्डकीबाट वालिङ र गल्याङ नगरपालिका, लुम्बिनीबाट तानसेन नगरपालिका, कर्णालीबाट विरेन्द्रनगर तथा सुदुरपश्चिम प्रदेशबाट टिकापुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहनेछ ।
त्यसैगरी सङ्घीय मन्त्रालय, प्रदेश सांसद तथा मन्त्री, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उच्च पदस्थ अधिकारी लगायत नेपालका लागि अष्ट्रेलियन राजदुतको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रमबाट स्थानीय सरकारका असल अभ्यासको आदानप्रदानसहित दोलखाको पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा रहेका नगर उपप्रमुख कमला बस्नेतले बताउनुभयो ।