दोलखा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीका नियामक निकायले बनाएका कानुन तथा निर्देशिकाको विरुद्धमा नउत्रिन सहकारी सञ्चालकहरुलाई आग्रह गर्नुभएको छ ।
दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २७ औं वार्षिक साधारणसभालाई शनिबार चरिकोटमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ढकालले नियामक निकायले बनाएका निर्देशिकाका तत्काल पालना गर्न सकिने सर्तहरु पालना गर्ने प्रतिबद्धतासहित तत्काल पालना गर्न नसकिने सर्तका लागि आवश्यक समय माग्नुपर्ने बताउनुभयो । उहाँले सहकारी अभियानमा उठेका प्रश्नहरुलाई सकरात्मक रुपमा लिएर आवश्यक सुधारतर्फ लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।
साधारणसभाको अवसरमा संघले उत्कृष्ट सहकारी अभियान्ताको रुपमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, उत्कृष्ठ सहकारी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था चरिकोट, उत्कृष्ट लगानीकर्ता चापखोला बचत तथा ऋण सहकारी संस्था जिरी–९, उत्कृष्ट कारोबारकर्ता जनसेवा बचत तथा ऋण सहकारी संस्था बैतेश्वर–२, उत्कृष्ट बचतकर्ता जनमुखी बचत तथा ऋण सहकारी संस्था बैतेश्वर–५ लाई नगदसहित सम्मान गरेको छ ।
त्यसैगरी उत्कृष्ट कर्मचारीतर्फ कालिनाग बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक शिवहरी शिवाकोटी, पूर्व सञ्चालक मरिच बहादुर खड्का र पत्रकार सिर्जन घिमिरेलाई नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा संघकी सचिव शर्मिला सापकोटाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष पर्शुराम कार्कीले ४३ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक गोपालध्वज श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका छन् । संघका अध्यक्ष भूमीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा, संघका उपाध्यक्ष नारायण श्रेष्ठ, महासचिव तेञ्जिङ शेर्पा लगायतले मन्तव्य राखेका छन् ।