दोलखा । भोलि माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको समय भन्दा २४ घण्टा अगाडिसम्म नेपाली काङ्ग्रेसले उम्मेद्वारहरुको टुङ्गो लगाउन सकेको छैन् ।
नेपाली काङ्ग्रेसले पार्टीभित्र विशेष महाधिवेशनबाट विकसित आन्तरिक घटनाक्रमका कारण टिकटको टुङ्गो लगाउन नसकेको हो । यसको प्रभाव स्वभाविक रुपमा दोलखामा पनि देखिएको छ । पार्टीले दोलखाबाट तारा बहादुर कोइराला, कुन्दनराज काफ्ले, अजयबाबु शिवाकोटी, प्रभुराम श्रेष्ठ र विनिता काफ्ले अधिकारीको नाम सिफारिस गरेर केन्द्रमा पठाएको भएपनि कसले टिकट पाउँछ भन्ने अझै टुङ्गो लागिसकेको छैन् ।
गएराति उम्मेद्वारका आकांक्षीबिच सर्वसहमत गराउने कसरत भएपनि उक्त प्रयास सफल हुन नसकेको नेपाली काङ्ग्रेस दोलखाको स्रोतले जनाएको छ । सहमतीको लागि प्रयास भनिए पनि काङ्ग्रेस दोलखाका सभापति बर्मा लामा तारा बहादुर कोइरालाको पक्षमा दृढ रुपमा उभिएको पाईएको छ । यस विषयमा भिलेज खबरसँग कुराकानी गर्नुहुँदै लामाले भन्नुभयो,“अहिलेको परिस्थितीमा तारा बहादुर कोइराला नै दोलखामा निर्वाचन जित्न उपयुक्त पात्र हो, उहाँ गाउँमा बुढापाकादेखि बालबच्चासम्म परिचित फेस हो । उहाँ हुँदा हामीलाई निर्वाचन जित्न सहज हुन्छ ।”
तारा बहादुर कोइरालालाई टिकट दिन पार्टी उपसभापति विश्वप्रकाश शर्मासँग आफूले कुराकानी गरेको तर अन्तिम निर्णय केन्द्रको हातमा रहेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो,“अहिलेको नेतृत्वले हामीले भनेको नभई आफ्ना पकेटकालाई टिकट दिने हो भने हिजो शेर बहादुर देउवाले पक्षपात गरे भन्नुको के अर्थ रह्यो त ?” जेन्जी आन्दोलन र पुस्तान्तरणको सम्बन्धि हाम्रो प्रश्नमा लामाले जेन्जीको कुरा नारा मात्र भएकोले सहरमा त्यसले अर्थ राखेपनि ग्रामीण क्षेत्रमा खासै अर्थ नराख्ने बताउनुभयो ।
नेपाली काङ्ग्रस केन्द्रको वर्तमान नेतृत्व विशेष महाधिवेशनबाट आउनु र उक्त अभियानमा साथ दिएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य युवा नेता अजयबाबु शिवाकोटीले टिकट पाउन सक्ने अधिकांशको आंकलन छ । जिपछिरीङ लामा बाहेक नेपाली काङ्ग्रस दोलखाका सभापतिसहित अधिकांश नेताहरु विशेष महाधिवेशनको विपक्षमा उभिएका थिए । उम्मेद्वार छनौटको लागि आज (सोमबार) दिउँसो नेपाली काङ्ग्रेसको बैठक बस्दैछ ।