दोलखा । नेकपा एमाले दोलखाका एक संस्थापक नेता तथा पूर्व पार्टी सचिव शिव प्रसाद भण्डारी सोमबार नेकपा एमालेमा फर्कनुभएको छ ।
नेकपा एमाले दोलखाले चरिकोटमा पुनर्मिलन कार्यक्रमको आयोजना गरेर पूर्व सचिव भण्डारीसहित एमालेबाट फुटेर गएको तत्कालिन नेकपा एकिकृत समाजवादीका दर्जनौं नेताहरुलाई पार्टीमा स्वागत गरेको हो । पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता भण्डारीले पार्टी विभाजनको ४ वर्षमा व्यहोरेको क्षति अबको एक वर्षमा पुर्ति गर्ने बताउनुभयो । पार्टीभित्र एकता कायम गर्दै आसन्न निर्वाचनबाट दोलखामा एमालेलाई विजय गराएर पुरानो बिरासत कायम राख्न सकिने भण्डारीको भनाई छ ।
उहाँले केन्द्रका नेताहरुको व्यवस्थापन हुन नसक्दाको परिणाम तल्लो तहका नेता कार्यकर्ताले भोग्नुपरेको बाध्यता सुनाउनुभयो । फरक पार्टीमा रहँदा पनि एमालेका सबै नेता कार्यकर्ताको सद्भाव पाईरहेको उल्लेख गर्नुहुँदै नेता भण्डारीले आफ्नो प्यारो घर नेकपा एमाले छोडेर कुनै पनि एकता र विभाजनमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२०७८ भदौमा एमालेबाट पार्टी विभाजन भई नेकपा एकिकृत समाजवादी पार्टी बनेपछि भण्डारी पार्टीको पोलिटब्युरो सदस्यको भूमिकामा रहनुभएको थियो । केहि महिनाअघि नेकपा एकिकृत समाजवादी पार्टी माओवादी केन्द्रको नेतृत्वमा गठन भएको नेपाली कम्युनिष्ट पार्टीमा एकिकरण भएपछि भण्डारीसहित नेकपा एकिकृत समाजवादीका दर्जनौं नेताहरु तटस्थ बसेका थिए ।
नेकपा एमाले दोलखाका एक संस्थापक, पार्टीका पूर्व सचिव तथा २०५४ का तत्कालिन जिल्ला विकास समितिका उपसभापति भण्डारी धेरै दोलखाली नागरिकका आदर्श पात्र हुनुहुन्छ । भण्डारी एमालेमा फर्किएसँगै एमालेवृत्तमा उत्साहको सञ्चार भएको छ । पार्टीमा भण्डारीको पुनरागमनले आसन्न निर्वाचनमा एमालेको जितको सम्भावना बलियो बन्दै गएको छ ।
पार्टी एकिकरणको विपक्षमा उभिएर तटस्थ भई बसेका युवा नेता पुष्पक केसी, ताम प्रसाद आपगाँई, कल्पना भण्डारी, राजकुमार केसी लगायतका नेताहरु पुनर्मिलन कार्यक्रमबाट एमालेमा समाहित भएका छन् ।