दोलखा । नेकपा एमाले दोलखाले आसन्न निर्वाचन केन्द्रित प्रतिबद्धतापत्र र विगतमा गरेको काम सम्बन्धि योगदान पत्र सोमबार सार्वजनिक गरेको छ ।
चरिकोटमा आयोजित एक कार्यक्रमकाबिच नेकपा एमाले दोलखाका संस्थापकमध्येका एक जितवीर लामासहितका नेताहरुले आसन्न प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पार्वत गुरुङको उपस्थितीमा प्रतिबद्धतापत्र र योगदान पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा जिल्ला सुशासन र सामाजिक सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी तामाकोशी तेस्रो जलविद्युत आयोजना सञ्चालन, खिम्ती–१ को शेयर कानून बमोजिम स्थानीयलाई हस्तान्तरण, लामाबगर–फलाक सडक निर्माण, गौरीशङ्कर क्याम्पसलाई हिमालयन विश्वविद्यालयका रुपमा विकास, कृषि बालीका हानिकारक बाँदर लगायतका वन्यजन्तु नियन्त्रणका लागि कानून निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।
औद्योगिक विकासतर्फ खरिढुङ्गाको म्याग्नेसाईट खानी पब्लिक कम्पनी बनाएर सञ्चालन, ‘एक वडा–पाँच उद्यम’ कार्यक्रम सञ्चालन, जिरी हाईवेको आसपासमा रेस्टिङ सेन्टर र भ्यू पोईन्ट निर्माण, पशुपति चौलागाँई स्मृति अस्पतालमा २ सय वेड र आइसियुसहितको सेवा विस्तार, हिंसा पिडित महिलाहरुका लागि सेफ हाउस र मनोपरामर्श केन्द्र स्थापना लगायतका विषयलाई प्रतिबद्धतापत्रमा प्राथमिकताका साथ उल्लेख गरिएको छ ।
त्यस्तै लामो समयसम्म दोलखामा नेकपा एमालेले सत्ता सञ्चालन गरेपनि केहि नगरेको भन्ने आलोचना भईरहेको बेला नेकपा एमाले दोलखाले सत्ता सञ्चालन गर्दा जिल्लामा गरेका यातायात, पूर्वाधार, जलविद्युत, जनस्वास्थ्य, सञ्चार, शिक्षा, पर्यटन, खानेपानी तथा सिँचाई लगायतका क्षेत्रमा गरेका कामहरु ‘दोलखाको विकासमा नेकपा एमालेको योगदान’ नाम दिईएको दस्तावेजमार्फत सार्वजनिक गरिएको छ ।
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले दोलखाका संस्थापक नेताहरु जितवीर लामा, लालकुमार केसी, आनन्द प्रसाद पोखरेल, शिव प्रसाद भण्डारी लगायत केन्द्रीय तथा प्रदेश कमिटीका सदस्यहरुसहित एमाले नेता कार्यकर्ता र पत्रकारहरुको सहभागिता रहेको थियो ।