दोलखा । फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेबाट दोलखामा पार्वत गुरुङ उम्मेद्वार बनेर चुनावी मैदानमा छन् ।
२०७० मा संविधानसभाको सदस्य र २०७४ मा प्रतिनिधिसभाको सांसदसँगै दुई पटक मन्त्री बनिसक्नुभएका गुरुङ जिल्लाका सबैभन्दा हेबीवेट उम्मेद्वार हुन् । आफ्नै पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो पटक महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री र दोस्रो पटक सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँगै सरकारको प्रवक्ता बनिसक्नुभएका गुरुङ दोलखाली जनतामाझ सुपरिचित पात्र हुन् ।
संसदीय राजनीतिमा २०७० र २०७४ मा लगातार विजय हाँसिल गर्न सफल भईसकेका गुरुङ अहिले लगातार तेस्रो जित निकालेर जितमा ह्याट्रिक गर्ने दाउमा छन् । २०७४ मा तत्कालिन माओवादी केन्द्रसँग बाम गठबन्धन गरेर देशमै सबैभन्दा बढी ३० हजार ६ सय ४४ मतान्तरसहित विजयी बनेका गुरुङ यस पटक पनि आफूले सानदार जित हाँसिल गर्न अहोरात्र खटिईरहेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रीसहित सरकारको प्रवक्ताको जिम्मेवारी कुशलातापूर्वक पूरा गरेर कार्यकुशलता प्रदर्शन गरिसकेका गुरुङ केवल दोलखाले मात्र होईन सिङ्गो देशले चिनेको नेता हुन् ।
सञ्चारमन्त्री हुँदा डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम अन्तरगत नागरिकहरुलाई सहज र सरल रुपमा अनलाइनमार्फत सेवा दिन सञ्चालनमा ल्याईएको ‘नागरिक एप’ एकिकृत सेवा प्रवाहको अहिलेको लोकप्रिय प्लेटफर्म बनेको छ । अर्कातिर इन्टरनेटको पहुँच गाउँ–गाउँसम्म पुर्याउन पनि गुरुङले गरेको योगदान महत्वपूर्ण छ । त्यसैगरी सूचना तथा प्रशारण विभागले आम सञ्चार माध्यम र पत्रकारहरुलाई दिने सेवाहरु अनलाइनबाटै दिने कामको थालनी गराएका गुरुङ आमसञ्चार माध्यम र पत्रकारहरुका लागि सधैँभरी सम्झिरहने पात्र हुन् ।
पार्टीमा यसअघि पोलिटब्यूरो सदस्य तथा हाल निर्वाचित केन्द्रिय सदस्यको भूमिकामा रहेका गुरुङले आफू सांसद तथा मन्त्री नभएको अवस्थामा समेत आफ्नो पार्टी सरकारमा हुँदा दोलखामा सडक तथा पूर्वाधारका क्षेत्रमा अरबौं बजेट भित्र्याएका छन् । जसले गर्दा उनी पदमा नरहँदा पनि जिल्लाको विकासमा टेवा दिईरहेका छन् भन्ने पुष्टी हुन्छ । तसर्थ पनि नेपाली राजनीतिको उच्च तहमा पहुँच राख्न सक्ने नेताको रुपमा गुरुङ अब्बल ठहरिएका छन् ।
गुरुङको जितलाई सहज बनाउने आधार
पहिलो कुरा दोलखामा नेकपा एमालेको साङ्गठानिक संरचना अत्यन्तै बलियो मानिन्छ । बहुदलीय व्यवस्था आएपछिका २०४८, २०५१, २०५६ र २०७० का संसदीय निर्वाचनमा एक्लै लड्दा पनि २०५१ मा क्षेत्र नम्बर–१ बाट नेपाली काङ्ग्रेसका भीम बहादुर तामाङले जित निकाले बाहेक सबै निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारहरु नै निर्वाचित हुँदै आएका छन् । २०७४ मा बाम गठबन्धन भएर एमालेले सङ्घीय प्रतिनिधिसभाको सदस्यमा पार्वत गुरुङलाई नै जिताएको हो । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काङ्ग्रेस–माओवादीको गठबन्धन हुँदा समेत एमाले उम्मेद्वार बालकृष्ण शिवाकोटी गठबन्धन (माओवादी केन्द्र) का उम्मेद्वार गङ्गा बहादुर कार्कीसँग ३१५ मतको झिनो मतान्तरले मात्र पराजित भएका थिए ।
दोस्रो कुरा पार्वत गुरुङ जिल्लाका ३३ जना उम्मेद्वारमध्ये सबैभन्दा हेबीवेटका उम्मेद्वार हुन् । संविधानसभाको सदस्य, प्रतिनिधिसभाको सांसद हुँदै सङ्घीय सरकारका दुइ ओटा मन्त्रालय सम्हाल्दै सरकारको प्रवक्ता समेत बनिसकेका नेसनल फिगर गुरुङ जनताबिच पनि उत्तिकै लोकप्रिय छन् । अर्कातिर गुरुङ मन्त्री भएका बेला सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा गरेका कामले पनि गुरुङको कार्यकुशलताको पुष्टी भईसकेको छ ।
तेस्रो कुरा गुरुङ एमालेभित्र पनि राजनीति र कुटनीतिमा अब्बल नेताको दर्जामा पर्छन । स्थानीय जनप्रतिनिधि देखि पार्टीमा जिल्ला अध्यक्ष हुँदै केन्द्रमा पोलिटब्यूरोको भूमिका निर्वाह गरिसकेका गुरुङलाई दोलखामा सहजै निर्वाचन जित्न सक्ने निष्कर्षका साथ नेकपा एमालेले धेरै आकांक्षीहरुमध्येबाट उम्मेद्वार बनाएको हो । गुरुङसँगै उम्मेद्वारका आकाक्षीहरु बालकृष्ण शिवाकोटी, रचना खड्का, श्याम कुमार बस्नेत र डबल पाण्डे समेत निर्वाचन अभियानमा सक्रियतापूर्वक लागेका छन् । पार्टीभित्र खरो उत्रिने गुरुङ नेता कार्यकर्ता कसैलाई पनि छुद्र वचन नबोल्ने नेताका रुपमा परिचित छन् ।
चौथो कुरा २०७५ मा नेकपा बनेपछि २०७८ एमाले फुटेर नेकपा एकिकृत समाजवादी बन्यो । त्यसको क्षति एमालेले २०७९ मा भएको स्थानीय तहदेखि प्रदेश र सङ्घको निर्वाचनमा व्यहोर्नुपर्यो । तर अहिले केहि महिना अगाडि बनेको नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन जान नचाहेका दोलखा एमालेका संस्थापक नेता शिव प्रसाद भण्डारीसहित धेरै नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएर आएका छन् । यसका साथै एमाले दोलखाका संस्थापक नेताहरु तथा एमालेबाट निर्वाचित पूर्व सांसद जितवीर लामा, पूर्व जिल्ला विकास समिति सभापति लाल कुमार केसी, भीमेश्वर नगरपालिकाका पहिलो निर्वाचित नगर प्रमुख चोक बहादुर दाहाल जस्ता लामो समय निष्क्रिय रहेका नेताहरु निर्वाचनको बेला क्रियाशील बनेका छन् । यसर्थ पनि पार्वत गुरुङले निर्वाचन जित्न सक्ने धेरैको आँकलन छ ।
चुनौती
नयाँ पार्टी र नयाँ उम्मेद्वार भन्दै भएको प्रचारबाजीले मतदातामा प्रभाव पर्न सक्ने जोखिम देखिन्छ । विगतमा लामो समय सत्तामा रहेका दलहरुका केहि कमीकमजोरीका कारण अहिलेको निर्वाचनलाई नयाँ र पूराना दलबिचको प्रतिस्पर्धाको रुपमा लिईँदा गुरुङले आफ्नो पक्षको मत सहजै ब्यालेट बक्समा पुर्याउन सक्लान कि नसक्लान यो भने चुनौतीको विषय छ । अर्कातिर नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा कतिपय एमालेका स्थानीय नेता कार्यकर्ता जानुले एमालेको जरा गाडेको संगठनमा कति असर परेको छ भन्ने प्रश्न पनि खडा छ ।
त्यसैगरी केहि नेताहरुले पार्टी छोडेका छन् भने टिकटको विषयलाई लिएर असन्तुष्ट बनेका केहि नेता कार्यकर्ताहरुको चित्त बुझाउन दोलखा एमालेको नेतृत्व र जिल्ला पार्टी इन्चार्ज समेत रहेका उम्मेद्वार गुरुङ कति सफल भए वा भएनन् यस विषयले पनि आउँदो नतिजाका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।