दोलखा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट दोलखाका उम्मेद्वार विशाल खड्का चुनावी मैदानमा छन् ।
२०७४ को प्रदेशसभा निर्वाचनमा दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’ बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित खड्का बागमती प्रदेशको वन तथा वातावरण मन्त्री समेत बनिसकेका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेपनि खड्काले नेकपा एमालेसँग बाम गठबन्धन गरेर मात्र सानदार जित निकाल्न सफल भएका थिए । प्रदेश सांसद र मन्त्री समेत बनिसकेका खड्का आफूलाई प्रतिनिधिसभाको सांसद बनाउन जनतामाझ मत मागिरहेका छन् ।
आफूलाई प्रतिनिधिसभाको नयाँ उम्मेद्वार भनेर प्रचार गरीरहेका खड्का वास्तविकतामा प्रतिनिधिसभाका नयाँ उम्मेद्वार भने होईनन् । खड्का २०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादीबाट दोलखा क्षेत्र नम्बर–१ मा उम्मेद्वारी दिएर पराजित बनेका नेता हुन् । जतिबेला एमालेका पार्वत गुरुङले १६ हजार भन्दा धेरै मत ल्याएर विजयी हुँदा खड्काले तेस्रो मत अर्थात ९ हजार मत प्राप्त गरेका थिए भने नेपाली काङ्ग्रेसका जिपछिरीङ लामाले दोस्रो मत अर्थात १२ हजार मत प्राप्त गरेका थिए ।
१० वर्षे राज्य–माओवादी विद्रोहमा एक जिम्मेवार माओवादी नेताको भूमिका निर्वाहका क्रममा ज्यान गुमाएका रित बहादुर खड्काका सहोदर भाइ विशालको तत्कालिन माओवादीका अध्यक्ष तथा हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग सहज पहुँच छ । तसर्थ २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा विशालकी सहोदर दिदी देवी खड्का दोलखा क्षेत्र नम्बर–१ बाट सानदार मतसहित विजयी भएर भौतिक राज्यमन्त्री समेत बनेकी थिईन् ।
उमेरले भर्खरै ४४ वर्ष भएपनि प्रदेश सांसद र मन्त्री समेतको अनुभव बटुलीसकेका खड्का पनि टेस्टेड क्यारेक्टरको रुपमा आलोचित छन् । प्रदेश सांसद र वन मन्त्री हुँदा दोलखाका लागि कुनै काम गर्न नसकेका भन्दै खड्काको आलोचना भईरहेको छ । खड्का मन्त्री रहेको समयमा मानव निर्मित जिरी ताल आयोजना प्रदेशको गौरवको आयोजनाका रुपमा राखिएको भएपनि अहिलेसम्म कुनै काम हुन नसक्दा दोलखाली जनतामाझ खड्काको विश्वास टुटेको देखिन्छ । अझ अर्को कुरा त प्रदेश सांसद तथा मन्त्री भएको बेला प्रदेश सरकारबाट जिल्लामा हालेको बजेटको हरेक योजनाबाट १० प्रतिशत कमिसन मागेको आरोप खड्कामाथि छ ।
२०६४ को संविधानसभाको निर्वाचन बाहेक तत्कालीन माओवादी पार्टीले दोलखामा गठबन्धनबिना कुनै पनि निर्वाचन जित्न सकेको छैन् । पार्टीलाई बलियो बनाउन विभिन्न राजनीतिक घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टीको निर्माण हुनु, दोलखामा एमालेका केहि नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु र केहि पालिकाको नेतृत्व आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरीरहँदा जनतामा प्रभाव हुन सक्छ भन्ने जस्ता कुरालाई आधार बनाएर खड्का आफूले चुनाव जित्न सकिन्छ भन्ने आशामा देखिन्छन् ।
एमालेका नेता तथा दोलखाका हेबीवेट उम्मेद्वार पार्वत गुरुङ र खड्का एउटै पालिका अर्थात गौरीशङ्कर गाउँपालिकाका हुनुले स्थानीयको सहानुभूतीको मत समेत बाँडिने अवस्था रहेको छ । अर्कोतर्फ नयाँ पार्टीका नाममा भोट मागिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य पार्टीका पक्षमा समेत मत जाने देखिन्छ । जसका कारण टेस्टेड क्यारेक्टर खड्कालाई जित निकाल्न सहज भने देखिँदैन् । त्यसैगरी पार्टीभित्र पनि खड्का र उनीहरुकै नातेदारको परिवारवाद हाबी भएको गुनासो न त नयाँ हो न त गलत नै । तसर्थ निर्वाचनमा होमिएका खड्काले जितको लागि प्रयास गर्नु त स्वभाविक हो तर यो सपना सहज रुपमा साकार हुन्छ भनेर यसै भन्न सकिन्न ।