दोलखा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट दोलखामा अजयबाबु शिवाकोटी चुनावी मैदानमा छन् ।
झण्डै साँढे दुई दशक नेपाली पत्रकारितामा व्यतित गरेका शिवाकोटी प्रत्यक्ष राजनीतिमा जोडिएको केहि वर्ष मात्र भएको छ । पत्रकारिताको माध्यमबाट राष्ट्रिय राजनीतिलाई नजिकबाट नियालेका शिवाकोटी खोजी पत्रकारिता अब्बल ठहरिएर चर्चा कमाएपछि प्रत्यक्ष राजनीतिमा जोडिएका हुन् ।
तत्कालिन सभामुख कृष्ण बहादुर महराको बलात्कार काण्डको समाचार लेखेर चर्चामा आएका शिवाकोटीले सभामुख महरालाई पदमुक्त गराउन सफल भएका थिए । यहि समाचारका कारण आफूलाई पत्रकारितामा असुरक्षित गरेका शिवाकोटी राजनीतिक सुरक्षाका लागि प्रत्यक्ष राजनीतिमा जोडिएको सार्वजनिक फोरममा बताउने गरेका छन् ।
एकातिर देशको सञ्चार मन्त्रीसँगै सरकारको प्रवक्ता समेत बनिसकेका एमाले उम्मेद्वार पार्वत गुरुङ र प्रदेश सांसद तथा प्रदेश मन्त्री समेत बनिसकेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार विशाल खड्कासँग प्रतिस्पर्धा गर्न राजनीतिका नयाँ पात्र शिवाकोटीलाई सहज भने पक्कै छैन् । अर्कातिर केन्द्रको पार्टी राजनीतिमा उदाउँदै गरेका शिवाकोटी जिल्लाको भूगोलको राजनीतिका लागि भने बिल्कुल नयाँ पात्र हुन् । जसले गर्दा पहिलो त काङ्ग्रेसकै शुभचिन्तकलाई उम्मेद्वार चिनाउनुपर्ने अवस्था छ भने मतदातालाई त अझ धौ धौ । २०७९ मा बालकृष्ण शिवाकोटीलाई गाउँ गाउँमा लगेर चिनाउँदा जसरी एमाले हैरान थियो यस वर्ष अर्का शिवाकोटी वा अजयबाबुलाई चिनाउन दोलखा काङ्ग्रेसले पनि उस्तै नियती व्यहोर्नूृ परेको छ ।
राजनीतिको व्यवहारिक भाषामा शिवाकोटी ४६ वर्षिय युवा नेता हुन् । पूराना दल र नेताबाट अवाक बनेका नेपाली जनताका अगाडि शिवाकोटी पार्टी सबैभन्दा पूरानो भएपनि व्यक्ति सबैभन्दा नयाँ हुन् । किनकि उनी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । पात्र नयाँ भएपनि पार्टी पूरानो भएकोले मतदाताको रुचिकर उम्मेद्वारमा शिवाकोटी परेका छैनन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका, दशकौं पत्रकारितामा भिजेर देश, जनता र राजनीतिलाई राम्ररी बुझेका शिवाकोटी स्वच्छ छवि भएका उम्मेद्वार हुन् ।
२०७९ सालको प्रदेशसभाको टिकट अन्तिम समयमा खोसिएका शिवाकोटी यस पटक प्रतिनिधिसभाको उम्मेद्वार बन्ने सौभाग्य पाएका भाग्यमानी पात्र हुन् । टिकट पाउने भाग्यमानी पात्र भएपनि चुनाव जित्ने पात्र बनेर देखाउन भने शिवाकोटीलाई फलामको चिउरा चपाउनु जस्तै छ । किनभने विगतको समिक्षा गर्ने हो भने नेपाली काङ्ग्रेस अधिकांश समय दोस्रो स्थान ओगट्ने पार्टी मात्र बनेको छ । जसलाई उल्ट्याउन शिवाकोटीलाई सहज भने पक्कै छैन् ।
पहिलो कुरा पुस अन्तिम साता नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन आयोजना भएकोमा जिपछिरीङ लामा बाहेक जिल्ला सभापतिसहित सबै नेताहरु विशेष महाधिवेशनको विपक्षमा थिए । शिवाकोटी भने हालका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नेतृत्व गरेर आयोजना गरेको महाधिवेशनमा उनीहरुको पक्षमा वकालत गर्दै केन्द्रीय सदस्य बन्न सफल भए र टिकट पनि पाए । तसर्थ शिवाकोटीले टिकट पाएकोमा काङ्ग्रेसकै अधिकांश नेताहरु असन्तुष्ट छन् । यसर्थ चुनाव जित्न पार्टी नेताहरुको साथ औपचारिक रुपमा देखिएपनि भित्री साथ पाउन मुस्किल छ ।
दोस्रो कुरा टिकटकै आकांक्षा राखेर टिकट बाँड्ने दिन मात्रै बागमती प्रदेशसभाको सदस्य पदबाट राजिनामा दिएका कुन्दनराज काफ्लेले टिकट पाएनन् । टिकटको आशामा सांसद पद नै गुमाएका काफ्ले पनि चुनावी कार्यक्रममा त हिँडेको देखिन्छ तर अन्तरआत्मादेखि शिवाकोटीलाई चुनाव जिताउन लाग्छन् वा लाग्दैनन् यसै भन्न सक्ने अवस्था छैन् । यसर्थ मुख्य कुरा त आफ्नो पार्टीभित्रकै साथ र सहयोग सुनिश्चित गर्न शिवाकोटीलाई कठिन छ ।
तेस्रो कुरा २ ओटा निर्वाचनमा उम्मेद्वार बनेर सानदार जित हाँसिल गरेका एमालेका पार्वत गुरुङ र २ ओटा निर्वाचनमा उम्मेद्वार बनेर एउटा निर्वाचनमा सानदार जित र एउटामा हार व्यहोरिसकेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार विशाल खड्का जस्ता अनुभवी खेलाडीसँग शिवाकोटी आलोकाँचो देखिन सक्छन् । जसले गर्दा शिवाकोटीको चुनावी रणनीति कमजोर सावित हुन सक्छ ।
चौथो कुरा नयाँ पार्टी भन्दै प्रचार गरेका पार्टी र तीनका उम्मेद्वार शिवाकोटीका लागि पनि चुनौतीका विषय हुन् । किनभने अहिले पूराना पार्टीकै नेता कार्यकर्ता र मतदाता समेत नयाँ पार्टीका नाम लिँदै प्रचार गरीरहेका छन् । तसर्थ नयाँ भनिनेहरु पनि पूराना दलका लागि चुनौती खडा गर्ने प्रतिस्पर्धीका रुपमा मैदानमा उत्रिएका छन् । तसर्थ पनि प्रतिनिधिसभाको सांसद बन्ने शिवाकोटीको आकांक्षा पूरा होला नहोला यसै भन्न सक्ने अवस्था छैन् । तर शिवाकोटीले जिते भने जनताको पक्षमा काम त कति गर्लान नगर्लान तर आफ्नो व्यक्तिगत जीवनमा भने लगातार जितिरहने छन् । जस्तो कि पहिलो पार्टीको केन्द्रीय सदस्य जिते, दोस्रो टिकट आफूले हात पारेर पार्टीभित्र जिते अनि प्रतिनिधिसभाको सांसद बने भने प्रतिस्पर्धी दलसँग पनि जित्ने छन् । यसकारणले पनि सबैको चासो छ राज्यको चौथो अङ्ग अर्थात पत्रकारिताबाट राज्यको पहिलो अङ्ग व्यवस्थापिका (प्रतिनिधिसभा) मा पुग्लान् त शिवाकोटी ?