दोलखा । दोलखा उद्योग वाणिज्य सङ्घको आसन्न १६ औं अधिवेशनमा सङ्घको अध्यक्ष पदमा वर्तमान प्रथम उपाध्यक्ष दिनेश पाठकले उम्मेद्वारी दिनुहुने भएको छ ।
सङ्घको संस्थागत विकास तथा उद्यमी व्यवसायीहरुको हितमा काम गर्ने लक्ष्यसहित आफूले सङ्घको नेतृत्व गर्न चाहेको अध्यक्षका आकांक्षी पाठकले भिलेज खबरलाई बताउनुभयो । पछिल्लो समयमा कोभिड–१९, विश्वव्यापी आर्थिक मन्दी र विभिन्न देशहरुबिचको द्वन्द्वका कारण संकटमा परेको उद्योग व्यवसाय र बजारलाई चलायमान बनाएर आर्थिक समृद्धि हाँसिल गर्नु अहिलेका टड्कारो आवश्यकता रहेको पाठकको भनाई छ ।
सङ्घका वर्तमान अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले दुई कार्यकाल नेतृत्व गरिसकेको र वर्तमान प्रथम उपाध्यक्ष भएकोले सर्वसम्मत अध्यक्ष बन्न खोजेपनि सम्भावना कम देखिएपछि पाठक निर्वाचनमा उत्रिने तयारीमा हुनुहुन्छ । भिलेज खबरसँग कुराकानी गर्दै पाठकले भन्नुभयो,“हर हिसाबले अहिले म सङ्घको नेतृत्व गर्ने तयारीमा छु । विगतमा सहमतीमा नेतृत्व चयन गरिएको हुँदा यो पटक पनि सहमतीको केहि पहलकदमी भयो । तर त्यो पहल सफल हुन नसकेपछि निर्वाचनमा जाने कुरा त स्वभाविक हो ।”
एक कार्यकाल कार्य समिति सदस्य र एक कार्यकाल प्रथम उपाध्यक्ष बनिसक्नुभएका पाठक अध्यक्षको दाबेदार हुनुहुन्छ । पाठकले आफू अध्यक्ष मात्र नभई सिङ्गो प्यानल नै बनाएर निर्वाचनको मैदानमा होमिन थालेको बताउनुभयो । आफ्नो टिममा रहेका साथीहरुमध्ये कसले कुन पदमा निर्वाचन लड्ने भन्ने अन्तिम निर्णय हुन बाँकी रहेको उहाँको भनाई छ ।
सङ्घको १६ औं अधिवेशन तथा २५ औं साधारणसभा यहि वैशाख ३१ गते चरिकोटमा हुँदैछ । संशोधित विधान अनुसार अधिवेशनले अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–१, महिला उपाध्यक्ष–१, महासचिव–१, सचिव–१, कोषाध्यक्ष–१ गरी ७ पदाधिकारीसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।