दोलखा । वैशाख ३१ गते हुने दोलखा उद्योग वाणिज्य सङ्घको १६ औं अधिवेशनका लागि प्रारम्भिक मतदाता नामावली सोमबार साँझ सार्वजनिक भएको छ ।
फर्जी नामसहित मतदाता नामावली सार्वजनिक गर्न खोजको भन्दै कार्यसमिति भित्रैबाट उजुरी परेपछि आइतबार दिउँसो ४ बजे सार्वजनिक गर्ने भनिएको नामावली सार्वजनिक नभई कार्यतालिका रद्ध भएको थियो । आइतबार उजुरी परेपछि सङ्घको नेतृत्वले सर्वसम्मत नामावली सार्वजनिक गर्ने भनी तत्काल निर्वाचन कार्यतालिका स्थगन गर्न लगाएको र सहमति नजुटेको भन्दै बहुमत कार्यसमितिले प्रमाणित गरेको नामावली उपलब्ध गराएपछि निर्वाचन कार्यतालिका संशोधन गरेर नामावली सार्वजनिक गरिएको निर्वाचन उपसमितिका सदस्य अधिवक्ता नविन खतिवडाले भिलेज खबरलाई जानकारी दिनुभयो ।
प्रकाशित कार्यतालिका अनुसार वैशाख २९ गते मङ्गलबार विहान ८ बजेदेखि १० बजेसम्म मतदाता नामावली उपर दाबी विरोध, दिउँसो १२ः२५ बजे अन्तिम मतदाता नामावली सार्वजनिक, १२ः४० बजेदेखि ३ बजेसम्म उम्मेद्वारी दर्ता, ३ः३० बजे उम्मेद्वारहरुको प्रारम्भिक नामावली सार्वजनिक र अपराह्न ४ बजेसम्म दाबी विरोधको समय तोकिएको छ ।
उम्मेद्वारहरुले ४ बजेदेखि ४ः३० बजेसम्म उम्मेद्वारी फिर्ता लिने र मङ्गलबार साँझ ५ बजे उम्मेद्वारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ । नयाँ नेतृत्वका लागि वैशाख ३१ गते विहान ११ बजेदेखि साँझ ५ बजेसम्म गौरीशङ्कर बहुमुखी क्याम्पसको प्राङ्गणमा मतदान गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, उपाध्यक्ष–१, महिला उपाध्यक्ष–१, महासचिव–१, सचिव–१, कोषाध्यक्ष–१ गरी ७ पदाधिकारीसहित १८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।