दोलखा । बिहीबार हुन लागेको दोलखा उद्योग वाणिज्य सङ्घको १६ औं अधिवेशनको निर्वाचन तालिका अन्तरगत बुधबार दिउँसो उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
सङ्घको नयाँ नेतृत्वका लागि अध्यक्षका उम्मेद्वारहरु दिनेश पाठक र सनत थापा छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । सार्वजनिक भएको अन्तिम नामावली अनुसार पाठकको टिमबाट बरिष्ठ उपाध्यक्ष बिमल श्रेष्ठ, उपाध्यक्ष बलराम थापा, महिला उपाध्यक्ष कल्याणी श्रेष्ठ, महासचिव राजन थापा, सचिव हिमाल न्यौपाने, कोषाध्यक्ष चन्द्र बहादुर तामाङ, दलित सदस्य हरिकृष्ण नेपाली, महिला सदस्य लक्ष्मी बस्नेत, मागा देउराली शाखा सदस्य झम्क बहादुर श्रेष्ठ, सिँगटी शाखा सदस्य हिरो भित्रीकोटी रहेका छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा गम्भीर श्रेष्ठ र बासुकुमार थापाले पाठक प्यानलबाट उम्मेद्वारी दिएका छन् ।
थापाको टिमबाट बरिष्ठ उपाध्यक्ष प्रविन श्रेष्ठ, उपाध्यक्ष विवेक कुमार खत्री, महिला उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव सुरेश उप्रेती, सचिव अनिल रिजाल, कोषाध्यक्ष रामशरण बस्नेत, दलित सदस्य प्रकाश नेपाली र महिला सदस्य पार्वती भण्डारी रहेका छन् । त्यसैगरी मागादेउराली शाखा सदस्यमा छोनाम्गेल तमाङ, सिँगटी शाखा सदस्यमा रिम बहादुर ओली, एशोसिएट्स सदस्यमा पुरुषोत्तम बुढाथोकी तथा खुल्ला सदस्यहरुमा कुमार श्रेष्ठ र राजेश उप्रेतीले थापा प्यानलबाट उम्मेद्वारी दिएका छन् ।
मङ्गलबार सार्वजनिक उम्मेद्वारहरुको प्रारम्भिक नामावली अनुसार पाठक प्यानलबाट एशोसिएट्स सदस्यका उम्मेद्वार रहेका प्रदिप शिवाकोटी विरुद्ध उजुरी परेपछि शिवाकोटीको उम्मेद्वारी निर्वाचन समितिले खारेज गरिदिएको छ । शिवाकोटीको उम्मेद्वारी खारेज भएसँगै थापा प्यानलका पुरुषोत्तम बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् भने यसअघि मैनापोखरी शाखा सदस्य राजन कुमार दहाल निर्विरोध निर्वाचित भईसकेका छन् ।
मङ्गलबार साँझ उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको भएपनि विभिन्न उम्मेद्वार विरुद्ध उजुरी परेपछि प्रारम्भिक नामावली प्रकाशन भएको झण्डै २४ घण्टामा अन्तिम नामावली सार्वजनिक भएको हो ।