दोलखा । नेकपा एमालेको ११ औं महाधिवेशनमा गृह जिल्ला दोलखा भएका पोलिटब्युरो सदस्य आनन्द प्रसाद पोखरेलले सचिव पदमा उम्मेद्वारी दिने हुनुभएको छ ।
यसअघि बागमती प्रदेश कमिटीको संस्थापक पार्टी अध्यक्ष बनिसक्नुभएका पोखरेलल अघिल्लो महाधिवेशनबाट पोलिटब्युरो सदस्य भई हाल काठमाण्डौं जिल्लाको पार्टी इन्चार्जको भूमिकामा हुनुहुन्छ । महाधिवेशनको टुङ्गो लागेसँगै आफूलाई उपमहासचिवको रुपमा साथीहरुमाझ चर्चा चलाएका पोखरेलले पछिल्लो समय सचिवको रुपमा सार्वजनिक दाबी गर्न थाल्नुभएको छ ।
हालका एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिने लगभग निश्चित भईसकेपनि आनन्द भने कुनै पनि प्यानलमा स्पष्ट खुलेर बोल्नुभएको छैन । विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री र बागमती प्रदेशको पार्टी अध्यक्ष बन्नुभएका पोखरेल ओलीनिकट नेताको रुपमा चिनिन्छन् । तर कतिपयले भने इश्वर पोखरेल बन्धुत्व भएको नाताले पनि आनन्दले इश्वरलाई समर्थन गर्न सक्ने अनुमान गरेका छन् ।
उपमहासचिवमा आफूलाई चर्चा चलाएका पोखरेल सचिवमा दाबी गर्नुले ओली समूहमा पदाधिकारीको चाप बढेककोले उपमहासचिव पाउने सम्भावना नदेखेपछि सचिवमा झरेको निकटस्थहरु बताउँछन् । एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म भक्तपूरको सल्लाघारीमा हुने तय भएको छ ।
आनन्द प्रसाद पोखरेलको पृष्ठभूमी
२०१६ सालमा दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर–३, जफे लप्सेमा नेकपा एमालेका नेता आनन्द प्रसाद पोखरेलको जन्म भएको हो । २०२९ सालमा कक्षा ७ मा पढ्दा नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएर पोखरेलले आफ्नो राजनीतिक जीवनको यात्रा सुरु गरेका हुन् । योसँगै २०३२ साल अखिल नेपाल कोअर्डिनेश केन्द्र युथलिगमा क्रियाशील भएका थिए ।
२०३३ सालमा एसएलसी उर्तिण हुनुभएका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट कृषि र कानुनमा स्नातक तथा ग्रामीण विकास विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका छन् । राष्ट्रियता सवालमा खरो उत्रने पोखरेल एक देशभक्त नेताको रुपमा परिचित छन् । जसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, कृषि, पर्यटन, र वातावरणीय संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आईरहेका छन् ।
नेपालको कम्युनिष्ट आन्देलनमा २०२९ सालदेखि क्रियाशिल हुनुभएका पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाको जिल्ला सचिव, बागमती प्रदेश कमिटीको अध्यक्ष हुँदै हाल पार्टीको केन्द्रीय समिति पोलिटब्युरो सदस्य र काठमाण्डौ ईन्चार्जको भुमिका निर्वाह गरीरहेका छन् । दोलखा जिल्लाबाट २०५६ मा पहिलो पटक सांसद निर्वाचित भएका पोखरेल २०७० मा भएको संविधान सभाको दोश्रो निर्वाचनमा निर्वाचित भई संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०७२ सालमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रीको रूपमा पोखरेलले काम गर्ने मौका पाएका थिए । पोखरेलले आफ्नो कार्यकालमा गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल र निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना मन्त्रिपरिषद्मा गरेका थिए । गौतम बुद्ध र पोखरा विमानस्थल निर्माण भई सञ्चालनमा आईसकेका छन् भने नीजगढ विमानस्थल निर्माणधीन अवस्थामा छ ।
हालसम्म ४५ देशको भ्रमण गरेर अनुभव बटुल्दै विकास र राजनीतिमा क्रियाशील पोखरेल अन्तराष्ट्रिय मन्चहरु “गोल्बल पार्लियामेन्ट फोरम फर इभालुयशन “को संस्थापक हुँदै “सार्कका ईभ्यालुयसन” को पनि संस्थापक हुन् ।
उनका प्रकाशित कृतिहरूमध्ये “गन्तव्य समाजवाद” राजनीतिकर्मी र विचारकहरुबीच लोकप्रिय बनेको छ । पोखरेलले सम्पादन गरेको “प्राकृतिक सम्पदा” ले वातावरणीय सवालमा लामो समयदेखि आवाज उठाउँदै संविधानमा वातावरण र सामुदायिक अधिकारलाई संविधानको अङ्ग बनाउन महत्पूर्ण भूमिका खेलेको थियो । पछिल्लो कृति “कम्युनिष्ट पार्टी निर्माणको आधार” पनि उनको राजनीतिक दृष्टि, अनुभव र कम्युनिष्ट आन्दोलन, संगठन निर्माणसँगै समाजवादी विचारलाई उजागर गर्ने अर्को महत्वपूर्ण प्रयास बनेको छ ।
राजनीतिक रुपमा कुशल विचारक, समाजसेवी तथा प्राज्ञिक व्यक्तित्व निर्माण गरेका पोखरेल नेपाली कम्युनिष्ट आन्दोलनका एक खम्बा हुन् । समसामयिक राजनीतिमा खरो उत्रिएर आवश्यकताका आधारमा आलोचनात्मक चेत प्रकट गर्ने पोखरेलको बहुआयामिक पहिचान छ । अध्ययनबाट खारिएका पोखरेलले आफ्नो लेखनबाट आम नेपाली कम्युनिष्टहरुलाई मात्र नभई आम नेपाली जनतालाई राजनीतिक विचार र चेतनाको दियो सल्काउने काम गर्दै आईरहेका छन् ।