दोलखा । नेकपा एमालेको ११ औं महाधिवेशनबाट दोलखाका पाँचजना नेता केन्द्रीय सदस्य तथा दुईजना लेखा आयोगको सदस्यमा निर्वाचित भएका छन् ।
बिहीबार विहान मतदान सकिए लगत्तै भएको मतगणनाको अन्तिम नतिजा अनुसार केपी शर्मा ओली नेतृत्वको नयाँ केन्द्रीय कमिटीमा दोलखाका सातजना नेताहरु पनि निर्वाचित हुन सफल भएका हुन् । खुल्ला केन्द्रीय सदस्यमा पार्वत गुरुङ (१,४९७ मत), रचना खड्का (१,१२४ मत) र आनन्द प्रसाद पोखरेल (९९७ मत) विजयी भएका छन् । त्यसैगरी खुल्ला महिला सदस्यको रुपमा उर्मिला सुनुवार (१,८५८ मत) विजयी हुनुभएको छ ।
त्यसैगरी सम्पर्क समन्वय क्लष्टरबाट श्याम कुमार बस्नेत सबैभन्दा बढी १ हजार ८ सय ६७ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । केन्द्रीय लेखा आयोगको सदस्यमा भने शान्तिमाया पाख्रिन (१,८६२ मत) र डिल्लीध्वज बराईली (१,६२३ मत) निर्वाचित भएका छन् ।
१९ पदाधिकारीमध्ये अध्यक्ष, महासचिवसहित १७ पदाधिकारी केपी शर्मा ओली प्यानलबाट निर्वाचित भएका छन् । इश्वर पोखरेलको प्यानलबाट उपमहासचिव पदमा पराजित भएका आनन्द प्रसाद पोखरेल र सचिवमा पराजित रचना खड्का केन्द्रीय सदस्यमा भने निर्वाचित हुन सफल भएका हुन् ।
दोलखा स्थायी ठेगाना भई केन्द्रीय तहमा राजनीतिमा सक्रिय निवर्तमान पोलिटब्युरो सदस्य इश्वर बहादुर रिजाल (इश्वरी) र प्रेस चौतारी नेपालका निवर्तमा अध्यक्ष गणेश बस्नेत भने पराजित भएका छन् । केपी ओली निकटका बस्नेतले ओलीको प्यानलमा नपरेपछि स्वतन्त्र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका थिए । त्यसैगरी लेखा आयोगको सदस्यमा उम्मेद्वारी दिएकी पूर्णिमा खरेल पराजित भएकी छिन् ।